२६ मंसिर २०८०
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयाेजनामा नेपाली विभागद्वारा प्रकाशित प्रज्ञान विज्ञसमीक्षित पत्रिका प्रज्ञान काे लाेकार्पण तथा प्राध्यापक र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा हुनुहुन्थ्यो । क्याम्पस कार्यसमितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, प्राध्यापक संघ सभापति लगायत प्राध्यापकहरू, कर्मचारी संघका अध्यक्ष लगायत स्ववियु सभापति तथा विद्यार्थी संघसङ्गठन र विद्यार्थीहरूकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रमकाे सुरुमा राष्ट्रगानकाे प्रस्तुति रह्यो । यसपश्चात् प्रमुख अतिथिद्वारा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घान गरियो । सामूहिक रूपमा प्रज्ञान पत्रिकाकाे विमाेचन गरियो । पत्रिकामा समीक्षात्मक टिप्पणी गर्ने काम डा. रामनाथ न्याैपानेले गर्नुभयो । उहाँले अनुसन्धानात्म लेखहरूकाे प्राविधिक पक्ष र लेखहरूले उठान गरेको सैद्धान्तिक आधार तथा विश्लेषणकाे पक्षलाई प्रकाश पार्नुभयाे ।
क्याम्पसमा लामाे समय सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मानकाे कार्यक्रम सम्पन्न भयो । विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा. पीतबहादुर नेपालीलाई सम्मान अर्पण गरियो । अवकाशप्राप्त प्राप्त युवराज पाैड्याल, कर्मचारीहरू तारा अधिकारी, सर्वनाथ नेपाल र टेकबहादुर कार्कीलाई सम्मान गरिएको हाे ।
प्रमुख अतिथि प्रा. डा. खगेन्द्रप्रसाद लइटेलले पाल्पामा सामूहिक उन्नति देख्दा प्रभावित भएको सन्दर्भ उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई अति राजनीतिले गाँजेको तितो यथार्थ प्रस्तुत गर्नुभयो । नेपाली विभागकाे प्रमुख भएपछि छाेटाे समयमा उल्लेखनीय काम गरेको कुरा झल्काउनुभयाे । राम्रो आकारप्रकारमा जर्नल निकालेकोमा क्याम्पस तथा नेपाली विभागलाई धन्यवाद व्यक्त गर्नुभयो । हाम्रा आफ्नै पद्धतिको विकास गर्नु आवश्यक रहेको विचार उहाँले व्यक्त गर्नुभयो । मेरो प्रतिस्पर्धी म नै हाे भन्ने भावना राखाैँ भन्नुभयो । नेपाली भाषाका क्षेत्रमा भएको अनावश्यक हस्तक्षेपप्रति खराे टिप्पणी गर्नुभयो । अङ्ग्रेजी जागिर खाने भाषा हाे तर नेपाली भाषा सपना देख्ने भाषा हाे भन्ने विचार व्यक्त गर्नुभयो । नेपाली भाषालाई ध्वस्त बनाउन गिराेह नै लागेको करा उहाँले उहाँले प्रस्ट पार्नुभयाे । नीतिगत रूपमै नेपाली भाषालाई खस्काउन लागेको पनि उहाँले सङ्केत गर्नुभयो । वर्तमानको शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक अवस्थालाई प्रकाश पार्नुभयाे । नेपाल सरकारका प्रत्येक कार्यालयमा अधिकृत स्तरको नेपाली विज्ञ राख्नुपर्ने माग र अडान रहेको कुरासमेत राख्नुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्माले नेपाली विभाले प्रज्ञान पत्रिकालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । विशिष्ट विद्वान्द्वारा पत्रिका विमाेचन गराउनु राम्रो काम रहेको व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तिहरूमध्येबाट युवराज पाैड्यालले आफ्नो प्राध्यापन समयका अनुभूतिहरू व्यक्त गर्नुभयो । दस वर्ष सहायक क्याम्पस प्रमुख र एघार महिना निमित्त क्याम्पस प्रमुख हुँदा ठाेकिन आएका कुरा र स्वार्थहरूलाई सङ्केत गर्नुभयो । भावनालाई समेटेर कविता पनि वाचन गर्नुभयो । लेखक तथा इतिहासकार निर्मल श्रेष्ठले प्रज्ञान पत्रिकालाई निरन्तरता दिनका लागि गरिएको प्रयास प्रशंसनीय रहेको कुरा व्यक्त गर्नुभयो । क्याम्पसमा लामाे समय सेवा गरी अवकाशप्राप्त सम्मानित व्यक्तिहरूलाई सम्मान गरिएकोमा धन्यवाद तथा बधाई व्यक्त गर्नुभयो ।
त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर रानाले सम्मानितहरूलाई बधाई तथा प्रज्ञान पत्रिकाकाे निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । त्रिवि कर्मचारी संघका सभापति डुकुलराज ढकालले क्याम्पसमा कर्मचारीका समस्यालाई प्रस्तुत गर्नुभयो । स्ववियु सभापति कृष्ण अर्यालले क्याम्पसले पछिल्लो समयमा क्याम्पसमा प्राज्ञिक गतिविधि बढ्दै गएको सन्दर्भ जाेड्नुभयाेेे । उहाँले क्याम्पसमा विद्यार्थी बढाउनुका साथै गुणस्तर सुधारका लागि सबै पक्ष सचेत हुनुपर्ने धारणा राख्नुभयाे ।
कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण व्यक्तिलाई स्वागत गर्ने काम सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रमकाे सञ्चालन डा. टंकप्रसाद पन्थद्वारा भयो ।




