६९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

६९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

2023-07-10

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले  आफ्नो इतिहासलाई स्मरण गरी ६९औँ  वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख तथा पूर्व क्याम्पस प्रमुख  सन्तोषलाल श्रेष्ठ हुनुहुन्थ्यो  । विशिष्ट अतिथिका रूपमा पूर्व क्याम्पस प्रमुखहरू चाेलेश्वर शर्मा, मनमाेहन श्रेष्ठ, केशवराज शर्मा, जीवनबहादुर थापा हुनुहुन्थ्यो । यसैगरी क्याम्पस व्यवस्थापन समितिका सदस्य धनेन्द्रराज घिमिरे आमन्त्रित हुनुहुन्थ्यो । क्याम्पस कार्यसमितिका सदस्यहरू निर्दाेष खनाल, डा. टंकप्रसाद पन्थ, सहायक क्याम्पस प्रमुखहरू धर्मबन्धु पाैडेल, डा. रामनाथ न्याैपाने, श्रीचन्द्र शाक्यकाे उपस्थिति थियोे ।  त्रिवि प्राध्यापक संघका सभापति खिमबहादुर राना, कर्मचारी संघका सभापति डुकुलराज ढकाल तथा  स्ववियु अध्यक्ष कृष्ण अर्याल आमन्त्रित हुनुहुन्थ्यो ।
सम्मानित व्यक्तिका रूपमा सुदीप बागची, शाेभाकर न्याैपाने, डा. नीलम नेपाल आमन्त्रित हुनुहुन्थ्यो । प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घाटन गरिएको थियोे ।  
सहायक क्याम्पस प्रमुख डा. रामनाथ न्याैपानेले कार्यक्रममा  आमन्त्रित अतिथि लगायत सम्पूर्णलाई  स्वागत गर्नुभएकाे थियोे । राष्ट्रगानसँगै कार्यक्रम अगाडि बढेको हाे ।
   अवकाशप्राप्त प्राध्यापकहरू सुदीप बागची र शाेभाकर न्याैपानेलाई सुखद अवकाशप्राप्त जीवनकाे कामनासहित सम्मान गरिएको थियोे । यसैगरी विद्यावारिधि उपाधिप्राप्त प्राध्यापक द्वय टंकप्रसाद पन्थ र नीलम नेपाललाई सम्मान गरियो । कार्यक्रममा मेधावी विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरियो । GPA 4 ल्याउने  बी. बी. ए. साताैँ सेमेस्टरका विद्यार्थीहरू विद्या मस्राङ्गी र प्रवीण पाण्डे तथा BSc  तेस्रो वर्षका विद्यार्थी  पदम शर्मा  र चाैथाे वर्षका   गुणाकर अर्याललाई प्रशंसापत्र र मायाको चिनाेद्वारा सम्मान गरिएकाे थियो  । यसैगरी BBA साताैँ सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई टीका र खादाले सम्मान गरिएको थियोे ।
क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले क्याम्पसका विविध गतिविधि तथा आर्थिक अवस्थाकाे प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले  २०११ सालमा स्थापना भएको यो क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा जेठो संस्था रहेको कुरा अवगत गराउनुभयाे । क्याम्पसकाे गाैरवशाली इतिहास, चुनाैतीपूर्ण वर्तमान र आशावादी भविष्यकाे अवस्था प्रस्तुत गर्नुभयो । क्याम्पसकाे वर्तमानकाे आर्थिक समस्या, प्राज्ञिक अवस्था र सम्भावना र  अवसरका बारेमा प्रकाश पार्नुभयाे । हाम्रो क्याम्पसबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेषज्ञताकाे भूमिकामा रहनु क्याम्पसकै गाैरवकाे विषय रहेको कुरा पनि  व्यक्त गर्नुभयो । गत तीन शैक्षिक वर्षको विद्यार्थी भर्ना तथा विद्यार्थीकाे अवस्थालाई पनि प्रस्तुत गर्नुभयो । स्ववियुमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा आएको र विद्यार्थी कल्याणका क्षेत्रमा पनि काम भएको कुरा उहाँले  प्रकाश पार्नुभयाे ।
     प्रमुख अतिथि सन्तोषलाल श्रेष्ठले क्याम्पसले २०६० मा स्वर्णमहाेत्सव आयोजना गरेको सन्दर्भ जाेडी वर्तमान समयमा वार्षिक रूपमा उत्सव मनाउने  नयाँ परम्परा थालेकोमा क्याम्पस प्रमुख लगायत टिमलाई  धन्यवाद व्यक्त गर्नुभयो । क्याम्पसले आफ्नो इतिहासमा  ठुलो उतारचढाव व्यहोर्नुपरेको अवस्थालाई उहाँले  जाेड्नुभयाे । विगतमा याेगदान गरेका व्यक्तिहरूलाई स्मरण पनि उहाँले गर्नुभयो । क्याम्पसकाे इतिहास अभिलिखित भएको पुस्तक निकाल्ने प्रयास गराैँ भन्ने आग्रह पनि  उहाँले गर्नुभयो । नगरपालिकाकाे कार्याधिकारभित्र मावि तहसम्मको शिक्षा मात्र रहेको कुरा उल्लेख छ तथापि हाम्रो क्याम्पसलाई हामीले के गर्न सकिन्छ, सल्लाह गराैँ भन्ने भनाइ राख्नुभयो । बतासे डाँकाको जग्गामा धेरैको आँखा लागेको अवस्थालाई उहाँले झल्काउनुभयाे । अनाधिकृत रूपमा जग्गाको अतिक्रमण हुने कुरामा सचेत हुनुपर्ने धारणासमेत  उहाँले राख्नुभयाे । जनसंख्या घट्नु अनि धेरै मानिसहरू बाहिर पलायन हुनुले तानसेनकाे भविष्यमाथि चिन्ता जन्माएको विचार प्रस्तुत  गर्नुभयो । क्याम्पसका राम्रा कामहरूलाई मिडियामा लैजानु आवश्यक रहेको कुरा पनि उहाँले  व्यक्त गर्नुभयो ।  सहकार्य गरेर अगाडि जान नगरपालिका सधैँ  तयार रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्माले क्याम्पसकाे विगतलाई स्मरण गरी विविध क्षेत्रमा सम्मानित भएका व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।  आफ अहिले पनि  क्याम्पसकै सदस्य भएको अनुभूति भएको विचार उहाँले व्यक्त गर्नुभयो । हिजोका कुरा गरेर अहिले कथा जस्तो हुने अवस्थालाई उहाँले सङ्केत गर्नुभयो । यस क्याम्पसकाे छवि स्वदेश तथा विदेशमा सुकिलाे रहेको यथार्थलाई उहाँले जाेड्नुभयाे । वर्तमान टिमले सकारात्मक भूमिका खेलेकाले सुखद अवस्था देखिएको  सन्दर्भसमेत जाेड्नुभयाे ।  आफू  क्याम्पसकाे विद्यार्थी, प्राध्यापक र क्याम्पस प्रमुखकाे भूमिकामा रहेकाले पनि  क्याम्पसलाई नजिकबाट अनुभूति गरेको सन्दर्भ जाेड्नुभयाे । उहाँले आफ्नी धर्मपत्नी  श्रीलक्ष्मी खनालका नाममा १,११,१११।- रुपैयाँकाे अक्षयकोषकाे  घाेषणासमेत गर्नुभयो ।
पूर्व क्याम्पस प्रमुख  मनमाेहन श्रेष्ठले विगतको सम्झना आइरहेको सन्दर्भ जाेड्नुभयाे । क्याम्पसमा सुदीप बागचीले बयालीस वर्ष सेवा गर्नु सानाे कुरा नभएको मर्म  व्यक्त गर्नुभयो । अहिले क्याम्पसमा विविध  गतिविधिहरू सञ्चालन हुनु सुखद पक्ष रहेको विचार उहाँले  व्यक्त गर्नुभयो । सम्मानित प्राध्यापक तथा विद्यार्थीहरूलाई बधाई पनि  ज्ञापन गर्नुभयो ।
पूर्व क्याम्पस प्रमुख तथा त्रिवि प्राध्यापक संघका महासचिव केशवराज शर्माले अग्रज गुरु सुदीप बागचीका कक्षाको स्मरण गर्नुभयो । इतिहास रचेको यस क्याम्पसकाे शाख बचाउनका लागि सुझबुझका साथ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । स्थानीय निकाय र पाल्पालीकाे पसिनाले उठेको क्याम्पसकाे सन्दर्भलाई उहाँले जाेड्नुभयाे । याेजना निर्माण गरी नगरपालिकामा पेश गरेमा सहयोग हुने कुरामा आफू विश्वस्त रहेको कुरा उल्लेख गर्नुभयो । मागअनुसारका कार्यक्रम थप्दै जाने र गुणात्मककताका लागि लड्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
व्यवस्थापन समितिका सदस्य धनेन्द्रराज घिमिरेले क्याम्पस प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमा धेरै कुराहरू समेटिएको सन्दर्भ उल्लेख गर्नुभयो । क्याम्पसमा धेरै महत्त्वपूर्ण पूर्वाधार रहेको र संस्थाकाे भविष्य उज्ज्वल रहेको विचार व्यक्त गर्नुभयो । क्याम्पसले उत्पादन गरेका व्यक्तिहरू नीतिनिर्माण लगायतका महत्त्वपूर्ण ठाउँमा रहेको र उहाँहरूकाे भावना र सहयोगलाई क्याम्पसले उपयोग गर्नुपर्ने धारणा राख्नुभयाे । लगनशील विद्यार्थी तथा प्राध्यापकहरूकाे मिहिनेत र तत्परतालाई उपयोग गर्न सक्यौं भने क्याम्पसकाे भविष्य उज्ज्वल रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । क्याम्पसकाे सफल भविष्यकाे कामना व्यक्त गरी आफ्नाे तर्फबाट सधैँ सहयोग रहने कुरासमेत व्यक्त  गर्नुभयो ।
 निवर्तमान क्याम्पस प्रमुख जीवन बहादुर थापाले  वार्षिकोत्सव मनाउने थालनी गरेकोमा क्याम्पस प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभयो । क्याम्पसलाई यो रूपमा ल्याउन मिहिनेत गर्ने पूर्व क्याम्पस प्रमुखहरू तथा सम्बद्ध व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । चुनाैतीहरूलाई चिरेर अगाडि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयाे ।
त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर रानाले ६९ वसन्त पार गरेको क्याम्पसकाे उज्ज्वल भविष्यकाे कामना गर्नुभयो । संस्थाकाे प्रगतिका लागि सबै पक्षको सहयोग  हुनुपर्ने कुरा उहाँले व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व  सुदीप बागचीले विद्यार्थीसँगै सम्मानित हुन पाएकोमा फरक र विशेष खालको  अनसभूति भएको विचार व्यक्त गर्नुभयो । दाल, भात डुकुकाे जाेहाे मिलाइदिने त्रिभुवन बहुमुखी क्याम्पसलाई कहिल्यै बिर्सन नसक्ने विचार व्यक्त गर्नुभयो । १० जना क्याम्पस प्रमुख आफूले व्यहाेरेकाे सन्दर्भसमेत  उहाँले स्मरण गर्नुभयाे ।
 स्ववियुका अध्यक्ष कृष्ण अर्यालले त्रिभुवन बहुमुखी  क्याम्पसले गरिमामय कार्यक्रम आयोजना थालनी  गरेकोमा क्याम्पस प्रशासनलाई धन्यवाद व्यक्त गर्नुभयो । सकारात्मक कुरामा स्ववियुकाे सधैँ सहयोग रहने विचारसमेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका  अध्यक्ष तथा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले  राम्रो नतिजा ल्याउन मिहिनेत गर्ने लगनशील विद्यार्थी, परिश्रम गरी प्राध्यापन गर्ने गुरुहरू, सम्बन्धित जिम्मेवारीमा रहेका प्राध्यापकहरूलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । उपस्थित सम्पूर्ण अतिथि र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमकाे समापन गर्नुभयो । कार्यक्रम सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले गर्नुभएको थियो ।